निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै निर्देशन दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले केही दिन अघि निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको गुनासो गरेपछि मन्त्रालयले कारबाहीका लागि परिपत्र जारी गरेको हो । निजी सवारी साधनहरुले भाडा लिएर यात्रु ओसार पसार गर्दा सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुगेको भन्दै यातायात ब्यवसायी महासंघले गृह मन्त्रालयसँग गुहार मागेको थियो । मन्त्रालयको निर्देशनसँगै भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्ने भएका छन् । यसको प्रत्यक्ष असर पठाओ, इन ड्राइभरलगायतका राइड शेयरिङहरुमा पनि पर्ने छ । राइड शेयरिङ कम्पनीहरुले काम सुरु गरेसँगै नेपालमा निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेका हुन । मोटरसाइकल, कार, भ्यानलगायतका निजी सवारी साधनहरुले यात्रु बोक्दा सार्वजनिक यातायातका साधन तथा ट्याक्सीहरु मारमा परेका छन् । तर, सर्वसाधारणलाई भने राइड शेयरिङले निकै सहज हुदै आएको छ ।