मन्त्रिपरिषदद्वारा पदम लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय

२०७९ चैत्र २४ गते, शुक्रबार

काठमाडौं । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ ।’
प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन्। ‘नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ,’ मन्त्री शर्माले भनिन् ।
यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियाे । आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए । लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग थियो । प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब प्रहरीको लाठी लागेर घाइते भएका थिए । उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]