संवैधानिक परिषद्को बैठक निष्कर्षहीन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने निष्कर्षमा नपुगी टुंगिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । उनले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा सुरू भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।
राजनीतिक दलहरुबीच दूरी बढ्दा संवैधानिक परिषद्को बैठक समेत बस्न सकेको थिएन । जसका कारण सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहिन अवस्थामा रहेको छ । वैशाख ४ गते नेकपा (एमाले) अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।