भोलि काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा : बिभिन्न कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा भोलि बैशाख ९ गते काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा गर्न लागेको छ । उक्त आम सभालाई नेकपाका महासचिव बिप्लव , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती ,माओवादी केन्द्र र नेकपा मसाललगायतका कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसैबीच , नेपाल कम्युनिस्ट पार्टीले भोलिको वृहत आमसभाकाे सम्पूर्ण तयारी पुरा भएकाे बताएको छ । सो पार्टीका उपत्यका ब्युरो इन्चार्ज कृति सीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएकाे ७५औं वर्षगाँठकाे अवसरमा आयोजित आमसभाकाे सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छ्न् । उनले जनसभामा विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएकाले मन्चलगायत सम्पूर्ण तयारी पुरा भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका अनुसार भोलि दिउसो १२ बजे काठमाडौंको सुन्धारावाट जुलुस सुरु हुने र खुल्लामञ्चमा पगेर आमसभामा परिणत हुनेछ।
स्मरणीय छ , रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो। नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं दिवसलाई नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक राष्ट्रिय पर्वकोरूपमा मनाउन लागेको हो। सो पार्टीले नेपालका सबै कम्युनिस्ट पार्टीका मुख्य नेताहरूलाई एउटै मञ्चमा ल्याएर कम्युनिस्ट आन्दोलनका बिषयमा बहस र समिक्षा गर्न कार्यक्रम आयोजना गरिएको बताईएको छ।