जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द !

२०८० जेष्ठ ३ गते, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै सो माग पुरा नगरे ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने घोषणा गरेको छ । सो पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्द गर्ने चेतावनी दिएको हो ।
सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी विज्ञप्ति भनिएको छ – ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ। ’
२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने बताएको छ । वरिष्ठ उपाध्यक्ष पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं ।

प्रतिक्रियाहरु

[anycomment]