सुदूरपश्चिममा आमहडताल !

२०८० जेष्ठ २८ गते, आईतवार


काठमाडौँ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समिति कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहडताल गरेको छ। हडतालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा रात्रिकालीन सवारीसाधन भित्रिने क्रम भने जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। घोषणा गरेको आमहडताललाई सफल पार्न स्वस्फूर्त रुपमा यहाँका शैक्षिक संस्था, बजार व्यवसाय पनि बन्द गरिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले हडतालको आशिंक प्रभाव परेको बताए।लामो दूरीका सवारीसाधन भने चल्न सकेका छैनन्। २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।
त्यसपछि हालै सरकारले सार्वजनिक गरेको आमागी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय बनाउने उल्लेख छ। तर जेठ १५ मा ल्याइएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र सय शय्याको अस्पताल सञ्चालन गर्ने बताइएको छ। सरकारले आफ्नै निर्णयविपरीत गेटामा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठान मात्र बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो।

प्रतिक्रियाहरु

[anycomment]