पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । राणा परिवारसँगको नाता पनि पर्ने उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले बतायो । निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएका श्रोतको दाबी छ ।
यसैगरी, ब्युरो(सीआईबी)ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । २०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।