प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षी दललाई घनीभूत छलफल गरेर सहमतिका लागि बैठक स्थगित गरेका हुन्। ‘संसद अवरूद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी)निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरू एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजिकरण गर्न म तयार छु। पर्सीसम्मा सहमति गर्नुहोला। आजको बैठक सूचना टाँसेर स्थगित गरौं,’ सभामुख घिमिरेले बैठकमा भने।
बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर बुधबारदेखि सदन अवरुद्ध पार्दै आइरहेको छ।
यसैगरी, आज पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।