काठमाडौँ महानगरद्वारा करमा छुट !

२०८० श्रावण ११ गते, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर,बहाल कर,र व्यवसाय करमा छुट सुविधा प्रदान गरेको हुँदा तोकिएको समयावधिभित्र आफ्नो वडा कार्यालयमा उल्लेखित कर दाखिला गरी छुट सुविधाको लाभ लिन आग्रह गरेको छ ।
काठमाडौँ महानगरपालिकाले दिएको छुट सुविधा यस प्रकार रहेको छ –
(१) सालबसाली नियमित कर दाखिला गर्ने सम्पत्ति, व्यवसाय, बहाल कर दाताहरूका हकमा २०८० पौष मसान्तसम्म कर रकम दाखिला गरेमा चालू आर्थिक वर्षको कर रकमको १०% रकम छुट हुने ।
(२) महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिई होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन भएको कर दाताको हकमा बक्यौता सहितको सम्पत्ति कर संवत् २०८० पौष मसान्तभित्र चुक्ता गरेमा थप ३०% छुट हुने ।
(३) व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।
(४) एक वडा एक नमुना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायहरूको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको ९५% छुट हुने ।
(५) चालू आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाहरूले २०८० पौष मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४०% र नियमित कर दाखिला गर्ने कर दाताहरूका हकमा कर रकमको २५% छुट हुने ।
तर, क्रम सङ्ख्या ५ मा उल्लेख भएका कर दातामध्ये काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्ति (नागरिकता वा मतदाता परिचय पत्र वा बसाइँ सराइ प्रमाणपत्र भएका) लाई करमा ५०% छुट हुने ।

प्रतिक्रियाहरु

[anycomment]