माओवादी पार्टी पार्टीजस्तो भएन !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले सो धारणा राखेका हुन् । अध्यक्ष प्रचण्डले भने – ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ । ’
अध्यक्ष प्रचण्डले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रिय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने समेत बताए । नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रिय समितिका नेताहरुले गम्भिरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउने समेत बताए । पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
अध्यक्ष प्रचण्डले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षा समेत आफूले गरेको बताए ।