एक क्वीन्टल सुन प्रकरण: अनुसन्धानको जिम्मा सीआईबीलाई

२०८० श्रावण १९ गते, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत निर्देशन दिएका हुन् ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।
विभागले हालसम्म राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अघि बढाइरहेको थियो । तर, सुन प्रकरणमा संगठित गिरोहको संलग्नता र यसमा भारत र चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीमार्फत अघि बढाउने निर्णय भएको जनाएको छ ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार, राजश्व अनुसन्धान विभागमार्फत राजश्व छलीको कसुरमा अनुसन्धान जारी रहन्छ भने संगठित अपराधको कसुरमा सीआईबीले वृहत अनुसन्धान गर्नेछ । लामो समयदेखि भइरहेको सुन तस्करीको माथिल्लो तहमा एकैखाले गिरोहको संलग्नता देखिने गरेकाले पुराना अनुसन्धानहरुलाई पनि जोडेर हेर्नुपर्ने सीआईबीका पूर्वनिर्देशक पुष्कर कार्की बताउँछन् । ‘सीआईबीबाट यसमा वृहत अनुसन्धान हुनु राम्रो हो, त्यसमाथि यसमा हुण्डीदेखि अरु कसुरको पनि अनुसन्धान गर्नुपर्ने हुनाले ढिलाइ गर्नु हुने थिएन’, उनले भने ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले पनि जिम्मेवारी प्राप्त भए ब्यूरोले आफ्नो क्षमता र विज्ञता प्रयोग गरेर अनुसन्धान गर्ने बताइन् ।

प्रतिक्रियाहरु

[anycomment]