एमालेद्वारा प्रतिनिधि सभाको बैठक अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । आजको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको मंगलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरुको बिरोध जारी रहने बताए ।
सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरु पनि उठेर बिरोध जनाएका थिए । सभाामुख देवराज घिमिरेले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरु नबसेपछि अवरोधकै बीचमा सांसद थापाले आफ्नो भनाई टुंग्याउनु भएको थियो । लगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालेले नाराबाजी रोकेन । साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् । यसै बिषयलाई लिएर एमालेले छानविन समिति बनाउनु पर्ने माग गर्दे आइरहेको हो । तर सरकार भने छानविन समिति बनाउन तयार छैन । एमालेको अवरोधका कारण साउन १० यता प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ । बुधबार एमालेको अवरोधकाबीच प्रतिनिधि सभा बैठक साउन २६ गते बस्नेगरी स्थगित गरिएको छ ।