एमसीसी परियोजना भदौ १४ देखि कार्यान्वयन गर्ने तयारी

काठमाडाैँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यान्वयन भदौ १४ गतेदेखि हुने भएको छ । पाँच वर्षमा सम्पन्न हुनैपर्ने बाध्यकारी एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्ट २०२३ अर्थात् आगामी १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको हो । नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ मा सम्झौता कुनबेला लागू हुने भन्ने व्यवस्था छ । सम्झौताको दफा ७.३ मा आवश्यक पूर्वशर्तहरू पूरा भएको कुरामा एमसीसी सन्तुष्ट रहेको भन्दै सम्झौता लागू गर्न उसले नेपाल सरकारलाई प्रेषित गरेको पत्रको मितिदेखि यो लागू हुने व्यवस्था छ । ३० अगस्त २०२३ मा सम्झौता लागू भएको खण्डमा २९ अगस्त २०२८ भित्र आयोजनाहरु निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । त्यसो नभएको खण्डमा खर्च हुन बाँकी रकम एमसीसीले फिर्ता लैजाने छ ।