सिआईबीले ललिता निवास प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

२०८० भाद्र ५ गते, मंगलवार


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सिआईबीले जग्गा हिनामिना प्रकरणको सबै अनुसन्धान सकेर ५७औं दिनमा जिल्ला सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो । सिआईबीका एसपी नवराज अधिकारीले ठगी र कीर्तेमा करिब ३०० प्रतिवादीलाई मुद्दा चलाउन रायसुझाव दिएको जानकारी दिए । ६० दिनसम्म मात्र थुनामा राख्न पाइने भएकाले शुक्रबारसम्म अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्नेछ । अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीद्वय विजयकुमार गच्छदार र चन्द्रदेव जोशीसँग सिआइबीले बयान लिएको छ । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि सिआइबीले हिरासतमा नराखी हाजिरी जमानीमा छाडेको छ । एक सय ४३ रोपनी जग्गा हिनामिनाको विगत चार वर्षदेखि सिआइबीले अनुसन्धान गरिरहेको छ । डेढ वर्षअघि पनि सिआइबीले मुद्दा दायरको प्रक्रिया अघि बढाएकोमा चलखेलकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले फाइल फर्काइदिएको थियो ।
अहिले पनि कर्मचारी, बिचौलिया, व्यापारीविरुद्ध मात्र मुद्दा दायरको हुने सम्भावना छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केट सञ्चालक मिनबहादुर गुरुङसहित हाल थुनामा छन् ।

प्रतिक्रियाहरु

[anycomment]