एमसीएका प्रमुख विष्टको पुत्ला दहन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा एमसीएका प्रमुख खड्कबहादुर विष्टको पुत्ला दहन गरेको छ । नेकपाको केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार विष्टको पुत्ला दहन गरिएको हो ।
यसैक्रममा नेकपानिकट समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसीको विरुद्ध पुत्ला दहन गरेको छ। रत्न सीको नेतृत्वमा भएको पुत्ला दहन कार्यक्रम सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ज्ञानेश्वर चोकमा भएको पुत्ला दहन कार्यक्रममा गो ब्याक एमसीसी, नो नट एमसीसी, गो ब्याक अमेरिका लगाएतका नारा सहित सोहि नारा लिखित एमसीसीको सांकेतिक पुत्ला बनाएर दहन गरिएको थियो ।
यसैगरी , नेकपा गुल्मीले एमसीएका प्रमुख खड्कबहादुर विष्टको पुत्ला दहन गरेको छ । धुर्कोट गाउँपालिकाको बर्बोटमा एमसीए प्रमुख विष्टको पुत्ला हदन गरिएको नेकपा सचिवालय सदस्य विनोद सीले बताएका छन् । उनले एमसीसी सम्झौता नेपालको हित विपरित भएको भन्दै पार्टीले यसको विरुद्ध लगातार संघर्ष आएको बताए । पुत्लादहन कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु, धुर्कोट गाउँ कमिटी र वडाका स्थानीय जनताको सहभागिता रहेको थियो ।
यसैगरी, नेकपा रुपन्देहीले जिल्लाका विभिन्न स्थानहरुमा एमसीएका प्रमुख खड्कबहादुर विष्टको पुत्लादहन गरेको छ । जिल्लाको बुटवलस्थित बुद्धनगर, फर्साटिकर, तिलोत्तमा र सैनामैनामा पुत्लादहन गरेको हो । बुद्धनगरस्थित पुत्लादहन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शरद सी, सेक्रेटरी विरेन्द्र सीलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी विरेन्द्रले एमसीसी परियोजनामार्फत् नेपालको सार्वभौमसत्तामाथि अमेरिकी साम्राज्यवादले हस्तक्षेप गरेका कारण पार्टीले लगातार संघर्ष गर्दै आएको बताए । उनले यो परियोजना खारेज हुनुपर्ने माग गर्दै कार्यान्वयन भए प्रतिरोध गर्ने बताए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङको आयोजनामा तुलसीपुरको बिरेन्द्र चोकबाट एमसिए नेपालका कार्यकारी निर्देशक बिष्टको पुत्ला बनाएर बिपि चोक ,जेसिज चोक हुँदै बाहिनी चोकसम्म घिसार्दै अन्त्यमा पुत्ला दहन गरिएको छ । एमसिएका कार्यकारी निर्देशकको फोटोसहितको पुत्ला बनाएर एमसिसीको मतियार खड्ग बहादुर बिष्ट लेखिएको पुत्ला बजारभरी घिसार्दै विभिन्न चोकहरु परिक्रमा गर्दै नेकपाका नेताकार्यकर्ताले एमसिसी सम्झौता खारेजीका लागि नाराबाजी समेत गरेका थिए ।
पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा पश्चिम दाङका सचिव निर्मल सीले एमसिसि सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध रहेको बताएका थिए । उनले भने– ‘एमसिसी नेपालमा आर्थिक सहयोग आवरणमा सैन्य हस्तक्षेप गर्ने उदेश्यसहित आएको छ । हामी सहयोग स्वीकार गर्छौं तर सर्तसहितको सम्झौता नेपाली जनताका लागि अस्वीकार्य छ । हामी अमेरिकाले चुनौती दिन्छौं सेना ल्याएर आउने कल्पना नगरे हुन्छ।’
अमेरिका सेना ल्याएर आउँछ भने हामी जुनसुकै मूल्य चुकाएर प्रतिरोध गर्छौं , उनले थपे‘अहिले पुत्ला जलाएर प्रतिरोध गरिरहेका छौ । अमेरिका सेना ल्याएर आउने दुस्साहस गर्छ भने बम बारुदले पनि प्रतिरोध हुनेछ । स्वाधीनताको लागि हाम्रो पार्टी जुनसुकै कदम चाल्न बाध्य हुनेछ ।’
कोणसभाको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी सीले गरेका थिए ।
यता शुक्रबार नै नेकपा पश्चिम दाङ अन्तर्गतका शान्तिनगर , दंगिशरण , बबई गाउँपालिकामा पनि एमसिसि सम्झौता कार्यान्वयनका विरुद्ध एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टको पुत्ला दहन गरिएको हो ।