‘एकीकृत जनक्रान्तिकाे स्कुलले पुरानाे कम्युनिस्ट स्कुललाई भत्काएकाे छ’

२०८० भाद्र १८ गते, सोमबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एकीकृत जनक्रान्तिकाे स्कुलले पुरानाे कम्युनिस्ट स्कुललाई भत्काएकाे बताएका छन् । नेकपा उपत्यका ब्युरोकाे दाेस्राे आवधिक याेजनाकाे पहिला पूर्ण बैठकलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
पार्टीकाे स्कुलिङ विभागका इन्चार्ज समेत रहेका भरतले पुरानाे कम्युनिस्ट स्कुल भत्कीएकाले एकीकृत जनक्रान्तिकाे स्कुललाई अझ व्यापक बनाउनुपर्ने बताए । ‘एकीकृत जनक्रान्तिकाे कार्यदिशा सफल हुँदै गएको छ । याे एकीकृत जनक्रान्तिकाे स्कुलकाे प्रभाव पनि हाे । यसकाे व्यवहारिक अभ्यासको रूपमा समाजवादी मोर्चा अगाडि आएको छ । याे साम्राज्यवाद विरुद्धकाे सशक्त माेर्चा हाे ।’
नेकपाले राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने समय आएको बताउँदै पार्टीले सबै देशभक्त, कम्युनिस्ट र समाजवादी शक्तिसँग सहकार्य गर्दै जाने नीति लिएकाे जानकारी दिए । साथै याे माेर्चामा पार्टीले अग्रमोर्चामा रहेर काम गर्ने गरि तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
एमसीसी कार्यान्वयनविरूद्ध उपत्यका ब्युरोले सशक्त भूमिका खेलेकाेमा धन्यवाद दिदै यसलाई राष्ट्रिय मुक्ति आन्दाेलनका रूपमा उठाउनुपर्ने धारणा राखे । बैठकका अध्यक्ष र संचालन ब्युरो इन्चार्ज कृति सीले दाेस्राे आवधिक योजना सफल पार्न सबै जिल्ला इन्चार्ज तथा सेक्रेटरीलाई निर्देशन दिए ।
बैठकले असाेज ४ गते काठमाडौंकाे लप्सीफेदीमा बृहत जनप्रदर्शनसहित एमसीसीविरुद्ध संघर्ष गर्ने, भदाै ३० गते जिल्ला सदस्यहरूकाे उपस्थितिमा प्रशिक्षण गर्ने, कालोबजारी, मिटरब्याजी र बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध संघर्ष गर्ने निर्णय गरेकाे व्युराे सदस्य डिआर सीले बताए ।
बैठकले नेकपा केन्द्रीय सदस्य चिरन्जीवी सीलाई विदाई गरेकाे छ । आइतबार विहानबाट सुरू भएकाे बैठक बेलुका सम्पन्न भएकाे थियाे । बैठकमा जिल्ला सेक्रेटरीले आफ्नाे फिल्डकाे रिपोर्ट पनि राखेका थिए । – शाेभराज बराल

प्रतिक्रियाहरु

[anycomment]