युवा संगठन कञ्चनपुरद्वारा वृक्षारोपण

काठमाडौँ । युवा संगठन नेपाल कञ्चनपुरले वृक्षारोपण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बेदकोट नगरपालिका ७/८ मा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा फलफूलका बिरुवा रोपेको हो । उक्त अवसरमा युवा संगठन कञ्चनपुरका अध्यक्ष भरत सीले वातावरणीय पर्यावरणको सन्तुलन कायम राख्न र युवाहरुमा सकारात्मक सोचको प्रवाह गर्न वृक्षारोपण कार्य गरिएको बताए । उनले पछिल्लो समय युवा जमात नराम्रा कुलतमा फसिरहेको बेला समग्र युवा जगतलाई समाज सेवा र देशभक्तिको भावना पैदा गर्न आफ्नो संगठनले यस्ता खाले सामाजिक अभियान गरिरहेको बताए ।
वृक्षारोपण कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज विराट सी, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव प्रकाश सी, युवा संगठन महाकाली ब्युरो इन्चार्ज हर्क सी , अखिल (क्रान्तिकारी) महाकाली ब्युरो इन्चार्ज शंकर सी, केन्द्रीय सदस्य ललित सी, अखिल (क्रान्तिकारी) कञ्चनपुर संयोजक अनिल सी लगायत अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।