प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक

२०८० आश्विन ४ गते, बिहीबार

काठमाडौँ । अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको चीनको भ्रमण तालिका सार्वजनिक भएको छ । प्रचण्ड अमेरिकाबाटै चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाबाट चीन प्रस्थान गर्न लागेका हुन् । भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ । साथै, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नेछन् । बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन-नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।
प्रधानमन्त्री भ्रमण पुरा गरेर असोज १३ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]