प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं। प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्। अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएका हुन्। गत भदौ २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा गएका थिए।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट सम्बोधन गरेका थिए भने न्यूयोर्कमा रहँदा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
गत शनिबार चीन पुगेका प्रधानमन्त्री प्रचण्ड एसियाडको उद्घाटन कार्यक्रममा सहभागी भए। चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरे। यस क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। त्यसपछि ल्हासा पुगेका उनले शुक्रबार छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुका साथै साँझ चिनिया कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।