युवा संगठन नेपाल गोरखाद्वारा सरकारी गाडी नियन्त्रण !

२०८० आश्विन १३ गते, शनिबार

काठमाडौँ । युवा संगठन नेपालले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले नियन्त्रणमा लिएको हो । युवा संगठन नेपाल गोरखाका इन्चार्ज राजकुमार गुरुङले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको बताए ।
संगठनले जिल्ला समन्वय समितिको बा २ झ २८९ र बागतमी प्रदेश बीएबी ९१९८ नम्वरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको बताइएको छ ।
नियन्त्रणमा लिइएको सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको बताइएको छ ।
इन्चार्ज गुरुङले गोरखा नगरपालिकाबाट शुरु भएको अभियान अब पालिकासम्म पुर्‍याउने जानकारी दिए ।
उक्त गाडीहरु कार्यालय परिसरभित्र राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज वेदनाथ भण्डारीले बताए । उनले भने- ‘प्रशासन कार्यालयबाट पास लिएको हो कि होइन हामीले बुझ्दै छौ। पास नभएकालाई हामी नियम अनुसार कारबाही गर्छौं ।’

प्रतिक्रियाहरु

[anycomment]