राष्ट्र संघका महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्ने
काठमाडौँ । यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्नेभएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाइका क्रममा उनले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
उक्त पत्र प्राप्त भएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीेले जानकारी दिए । उनले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको काम समेत शुरु गरिसकेको बताए । महासचिव गुटेरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ । प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठक कार्तिक १२ गते बोलाइएको र सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने समेत जनाए ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा निम्तो दिएका थिए । पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत रहेका गुटेरेसको संयुक्त राष्ट्र संघको महासचिवको रुपमा यो दोस्रो कार्यकाल हो ।