रिगललाई आममाफी दिने निर्णय बदर
काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
सर्वोच्च अदालतले नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गर्न आदेशसमेत दिएको छ।
०७२ साल असार २८ गते चेतनको हत्या गरी फरार रहेका रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध भारती शेर्पाले रिट दायर गरेकी थिइन् । भारतीले आफ्नो श्रीमानको हत्यारालाई माफी दिएर आफूसहितका पीडितलाई थप पीडा दिएको भन्दै रिट दायर गरेकी थिइन् । उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय बाँके तथा दाङ र कारागार कार्यालय दाङसहित रिगललाई विपक्षी बनाएर असोज २२ मा रिट दायर गरेकी हुन् ।