आईएफआरसीद्वारा ‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आपतकालीन अपिल

२०८० कार्तिक २६ गते, आईतवार

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ। आईएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो । आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ,जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ। राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने यहाँस्थित आएफआरसी कार्यालयले जनाएको छ ।
आईएफआरसीले विज्ञप्तिमा भनेको छ, ‘जाजरकोटमा भूकम्प गएलगत्तै आइएफआरसी तथा आफ्ना साझेदार एवं नेपाल रेडक्रस सहित सम्बन्धित पक्षसँग मिलेर तत्काल मानवीय सेवाका काम गरिराखेको छ। रेडक्रसका दक्ष स्वयंसेवकमार्फत प्रभावितको खोजी, उद्धार तथा राहतका काम द्रुत सञ्चालनमा सहयोग गरिरहेको छ । स्वास्थ्य सेवा प्राथमिक उपचार, मनोसामाजिक सहयोग, रक्त सञ्चार तथा एम्बुलेन्स सेवा, गैरखाद्य सामग्री वितरणजस्ता तत्कालीन सहयोग उपलब्ध गराइरहेको छ।’
यसैगरी, आईएफआरसीले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल १० करोड सहयोग उपलब्ध गराएको थियो। स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो। आईएफआरसीका महासचिव जगन चापागाईँले जाजरकोट भूकम्पपश्चात तत्काल सो रकम उपलब्ध गराउने जानकारी दिँदै नेपालमा मानवीय सेवाका थप सहयोग उपलब्ध गराउने बताएका छन्। -रासस

प्रतिक्रियाहरु

[anycomment]