पश्चगमनबाट जोगिन समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा पश्चगमनको खतराबाट जोगिन समाजवाद अनिबार्य शर्त भएको बताएका छन । जनपत्रकार सङ्गठन नेपालको चौथो पूर्ण बैठकलाई मंगलवार कपिलवस्तुको शिवगढीमा सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।
महासचिव विप्लव सीले दुर्गा प्रसाई जस्ता राजावादीहरुको चलखेल तर्फ इङ्गीत गर्दै नेपालमा पश्चगमनको खतरा जीवित रहेको औल्याउदै भने- “नेपालमा पश्चगमनको खतरा छ । अमेरिका र भारतले सहयोग गरेमा प्रतिगमनको खतरा हुन सक्छ । यसबाट जोगिन अग्रगमनको निकास दिने व्यवस्था समाजवादी व्यवस्था हो । त्यहाँ जानु पर्छ ।”
महासचिव विप्लव सीले नेपालका सबै कम्युनिष्ट,माओवादी,वामपन्थी,वुद्धिजीवी तथा देशभक्त शक्तिहरु एकतावद्ध भएर प्रतिगमनका विरुद्ध काँध थापेर लडनुपर्ने बताउदै भने – “प्रतिगमन सजिलै हुने सम्भावना त छैन तर सचेत नहुने हो भने अग्रगामी शक्तिहरु एक नहुने हो भने त्यो सम्भावना हुन सक्छ ।”
महासचिव विप्लव सीले पत्रकारहरुलाइ जनताको पत्रकार हुन र साम्राज्यवादी षड्यन्त्रका विरुद्ध लेख्ने पत्रकार हुन आग्रह गर्दै दलालपूँजीवाद र साम्राज्यवादले नेपाली जनता माथि गरिरहेको शोषण, दमन र हस्तक्षेपका विरुद्ध अग्रमोर्चा कलमबाट लड्न पत्रकारहरुलाई निर्देशन दिए ।

महासचिव विप्लव सीले नेपाली जनता र देशको संकटको अबको निकास नेपाल कम्युनिष्ट पार्टी विकल्पमा देखिएको भन्दै पार्टीले देशको नेतृत्व लिनुपर्ने जिम्मेवारी काँधमा आएको बताउदै पत्रकार संगठन आत्मनिर्भर संगठन बन्नुपर्ने र संस्थागत र निजी मिडियाहरुलाई व्यवस्थित पार्न अहिलेको सूचना प्रविधिलाई समात्न सुझाव दिए ।
उक्त बैठकमा नेकपाका स्थायी समिति सदस्य अनिल सीले पत्रकारका समस्याहरुको समाधानका लागि सक्दो पार्टीले सहयोग गर्ने आश्वासन दिंदै संगठनका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले आफ्नो दायित्व अनुसार कामहरु पुरा गर्न पनि आग्रह गरे ।
बैठकमा जनपत्रकार सगठन सल्लाहकार समितिका संयोजक राजेन्द्र सीले संगठन चुस्त दुरुस्त बनाउन सुझाव दिएका थिए ।