चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

२०८० मंसिर १८ गते, सोमबार


काठमाडौँ । इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबीच चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौता भएको छ । समिति र प्रालिबीच सोमबार पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे । हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्युनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ सय ३० करोड भन्दा बढी आम्दानी गरिरहेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताएपनि कार्यालय खारेजी नहुने बताए । कार्यकारी निर्देशक गजुरेलले संस्था अझै बलियो भएर जाने र खारेजी भएपनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरुले सोचिरहेको बताए । उनले चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको करिव २० महिनाको अवधिमा व्यापारीक प्रयोगमा वृद्धि भइरहेको बताए । उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा तुलनात्मक रुपमा वृद्धि हुने अवस्था देखिएको बताए ।
चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु—दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको बताए ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बोल्दै प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतिहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको र आफूहरुले दिने सेवा स्तरीय बनाउन आफूहरुको प्रयास रहने बताए ।
समितिले गत साउन ९ गते टेण्डर आह्‍वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]