आलु–प्याज व्यवसायीद्वारा आन्दोलन फिर्ता

काठमाडौँ । आलु–प्याज व्यवसायीले आन्तरिक राजस्व विभागको स्वदेशी उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने प्रष्टीकरणपछि आन्दोलन फिर्ता लिएका छन् । यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको छ । शुक्रबार विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा भ्याट नलाग्ने सूचना निकालेको थियो । यो सूचना आएपछि आजदेखि कारोबार खुलाइएको आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले जानकारी दिए । तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ । प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ । व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभाव भएको हो ।
भारतबाट आउँदै गरेका केही गाडी प्याज एकदुई दिनमा आइपुगे पनि भारतले निर्यात नखोलेसम्म सहज नहुने महासचिव गजुरेलले जानकारी दिए । उनका अनुसार सरकारले नै भारतसँग प्याज आयातका लागि सहजीकरण नगरे अभाव चुलिने बताए । भारतले आगामी मार्चसम्म प्याज निर्यातका लागि रोक लगाएको छ ।
आलु उत्पादनको मौसम भएका कारण स्थानीय उत्पादनले पर्याप्त हुन्छ । काठमाडौं उपत्यकामा दैनिक करिब ७० टन प्याज र १५० टन आलु खपत हुने महासचिव गजुरेलले जानकारी दिए ।