बालकृष्ण खाँण रिहा

२०८० मंसिर ३० गते, शनिबार


काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाँण ७ महिनापछि थुनामुक्त भएका हुन् । बिहीबार उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए ।
बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो । जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]