नेकपा राप्ती ब्युरोद्वारा राज्य षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने उद्घोष

२०८० पुष ७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले राज्यको षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ। दाङको तुलसीपुरमा शुक्रबार सम्पन्न ब्यूरोको विशेष बैठकले सो निर्णय गरेको हो । उक्त विशेष बैठकले पार्टी र तत्कालीन केपि ओली नेतृत्वको सरकारबिच भएको तीन बुँदे सहमतिको गम्भीर उल्लंघन गर्दै राज्यले पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका नेताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी अमेरिकी साम्राज्यवादको योजनामा नेपालको दलाल पुजीवादी सत्ताको षड्यन्त्र भएको निष्कर्ष निकाल्दै तिन बुदे राजनीतिक सहमति कार्यान्वयनका लागि चर्को जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले एनसेल काण्ड र राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध ब्युरो अन्तर्गतका सबै जिल्लामा व्यापक विरोध प्रदर्शन, जुलुस प्रदर्शन लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।
बैठकले ब्युरो अन्तर्गतका सबै जिल्लामा २ महिने राज्यको षड्यन्त्रका विरुद्ध पार्टी संगठन विस्तार तथा सुदृढ अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ भने राष्ट्रघात, जनघात, महंगी, कालोबजारी, भ्रष्टाचार, तस्करी, चर्को मुल्यबृद्धि एवम सामाजिक विभेदका विरुद्ध जनसंघर्ष गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीको अध्यक्षता एवम सञ्चालनमा भएको विशेष बैठकमा नेकपाका पोलिट ब्युरो सदस्य आधार सी, अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु सी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली सी, पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकास सी लगाएतको आतिथ्य रहेको थियो ।
बैठकमा ब्युरो अन्तर्गतका सबै जिल्लाका इन्चार्ज , जिल्ला सचिव एवम ब्युरो समितिका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ब्युरोको विशेष बैठक लगत्तै सबै जिल्ला कमिटीको बैठक बसि जिल्लाको सापेक्षतामा थप निर्णयहरु गरिने ब्युरो कार्यालय सचिव विकास सीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]