प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

२०८० पुष ८ गते, आईतवार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका छन् । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उनीहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो ।
सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ ।
उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ ।
सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]