नेकपा पश्चिम लुम्बिनी ब्युरोले अदालतको पक्राउ पुर्जी र एमसीसीको विरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्विनी व्यूरोले अदालतको कथित पक्राउ पुर्जी र राष्ट्रघाती एमसीसी सम्झौता, मिटरब्याजी र लघुवित्तको चर्को ब्याजका विरुद्ध सशक्त संघर्ष गर्ने बताएको छ । सो ब्यूरोको सोमबार सम्पन्न चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ । गत मंसिर १८ गते जिल्ला अदालत काठमाडौँद्वारा नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी, दिन प्रतिदिन बढ्दै गइरहेको लघुवित्तको मनपरी, मिटर ब्याजीहरुको अवैध धन्दाको विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको हो ।
नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टीबिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको आज ३४ महिना बितिसक्दा पनि सहमति पत्रमा उल्लेख भए अनुसार नेकपाका नेता तथा कार्यकर्तामाथी लगाइएको झुठ्ठा मुद्धा खारेजी र जेल हिरासतमा रहेका नेता कार्यकर्ता रिहाई गरिनुको साटो काठमाडौँ जिल्ला अदालतद्वारा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेता विरुद्ध उल्टो पक्राउ पुर्जी जारी गरिदैछ, यसले देशमा अग्रगामी परिवर्तन सहितको शान्ति, स्वाधिन र समृद्ध राष्ट्र देख्न नचाहने साम्राज्यवादको षडयन्त्रमा पश्चिमाहरुको कथित इशारामा अदालत परिचालित भएको नेकपाका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख विषम सीले बताएका छन् । सरकार र नेकपाबिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरी पार्टीका नेता कार्यकर्तामाथि लगाइएका झुट्टा मुद्धाहरु सरकार प्रमुख नै खारेज गर्ने विषयमा सहमत भई हस्ताक्षर गरीसकेपछि अदालतले स्वत: ति मुद्धाहरु खारेज गर्नुको साटो महासचिव, प्रवक्ता लगायतका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गर्नु अदालत आफु नभई विदेशीकै इशाारामा चलेको प्रमाणित हुन्छ उनले भने । अँझ अचम्मको कुरा त यो छ की वर्तमान सरकार प्रमुखलाई समेत पक्राउ पुर्जी जारी गर्नुले नेपालको न्यायालयले कसको पक्षमा र कहाँबाट परिचालित छ भन्ने गम्भिर प्रश्नहरु उब्जिन्छन् यसको जवाफ अदालतले दिनुपर्ने नेता विषमले बताए । त्यस्तै एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघाती एमसीसी सम्झौता सडकबाटै खारेज गर्नुपर्ने उनले बताए । कथित पक्राउ पुर्जी, राष्ट्रघाती एमसीसी सम्झौता, दिनप्रतिदिन बढ्दै गइरहेको लघुवित्तको मनपरी, मिटर ब्याजीहरुको अवैध धन्दाको विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गर्दै व्यूरोको चौथो पूर्ण बैठक भालुवाङ्गमा सम्पन्न भएको नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सीले जानकारी दिएका छन् ।
त्यस्तै नागरिकलाई घरवारविहिन बनाई उठिबास र आत्मदाह गर्नसम्म बाध्य पार्ने अपराधी मिटर ब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासोको आधारमा सामाजिक रुपमै जनकार्वाही गर्ने नेकपाले जनाएको छ । बैठकमा नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तर्गतका सात जिल्लाहरु पुर्वी र पश्चिम कपिलवस्तु, देउखुरी, पुर्वी र पश्चिम प्यूठान त्यसैगरी उत्तर र दक्षिणी अर्घाखाँचीका इन्चार्ज र सेक्रेटरीको उपस्थिति रहेको थियो । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको लागि नेकपाले विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ ।