ललितपुरका प्रजिअ , प्रहरी प्रमुख र इपीएस प्रमुख हटाईए
काठमाडौँ । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताए ।
ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको उनले बताए । उनले वैदेशिक रोजगारीका विषयमा आफूहरु संवेदनशील रहेको र देशभित्रै रोजगारी सिर्जनामा ध्यान दिने बताए ।
यसैबीच, सरकारले बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।