राष्ट्रिय सभा उम्मेदवारले तीन लाख पचास हजार खर्च गर्न सक्ने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन लाख पचास हजार खर्च गर्न पाउने हद तोकेको छ । आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली अनुसार तीन लाख पचास हजार मात्रसम्म खर्च गर्न सक्ने गरी हद तोकिएको जनाएको छ । सो खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने छ । उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ । त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन तथा निर्वाचन कसूर तथा सजाय ऐन बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले अनुरोध गरेको छ । माघ ११ गते १९ सदस्यका लागि हुने निर्वाचनमा ५१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।