‘भारतसँग भएका पछिल्ला सम्झौता सार्वजनिक हुनुपर्छ’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले भारतसँग भएका पछिल्ला सम्झौता सार्वजनिक हुनुपर्ने बताएको छ। सो पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्ताबेजहरु माग्ने निर्णय गरेको हो । बैठकले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल-भारतको बीचमा भएका सम्झौताहरु सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत लगायतका सम्झौताहरु माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको बताए । प्रवक्ता खतिवडाले भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरु संवेदनशील रहेको बताए ।
बैठकले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको प्रगति विवरण पार्टीमा बुझाउन निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
बैठकले माघको ८ गते पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाएको छ ।