एमालेद्वारा सरकारलाई ७५१ बुँदे मागसहितको ज्ञापनपत्र पेश

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई ७५१ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘मध्यपहाडी यात्राको क्रममा हामीलाई प्राप्त भएका जनताका माग र समस्याहरूबारे आज हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएका छौँ’, अध्यक्ष ओलीले भने, ‘१८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन् ।’
ज्ञापनपत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।