‘युवालाई देशमै रोक्न हरसम्भव प्रयास गर्नुपर्छ’
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले युवालाई स्वदेशमै रोक्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा र रोजगारीका लागि युवा पलायनको क्रम बढेकोले उनीहरूलाई यहीँ रोक्ने कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले रोजगारी प्रवर्धन गर्ने कार्यक्रम ल्याउनुपर्ने तर्क गरे। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुशी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्य हासिल गर्न नसकिने बताउदै भने- । ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ’, उनले भने, ‘जुनसुकै उपाय अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ। उत्पादकत्व बढाउनुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको बताए। विश्वविद्यालयले देशैभरि सबै प्रदेशमा आङ्गिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठवटा कृषि संकाय र एक वनविज्ञान संकायअन्तर्गतका कलेज र दुईवटा कृषि विज्ञान केन्द्र स्थापना गरी सञ्चालनमा आएकोप्रति उनले खुशी व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले गरिराखेको शिक्षण अनुसन्धान क्रियाकलाप, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्य, भौतिक पूर्वाधार र कलेज विकासजस्ता कार्यलाई दिगोरूपमा सञ्चालन गर्न आग्रह गरे।