अदालतले विप्लवलाई होइन तीन बुँदे लागू गर्न सरकारलाई आदेश गर्नुपर्यो

२०८० माघ २० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमनसिंह अदालतले नेकपाका महासचिव विप्लव सी विरुद्ध पक्राउ पुर्जी जारी गर्ने होइन, तीन बुँदे सहमति लागू गर्न सरकारलाई परमादेश गर्नु पर्ने बताएका छन । शुक्रबार उदयपुरको कटारी नगरपालिकामा भएको अन्तरकृयामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अमेरिकीहरुको षड्यन्त्रको सिकार भएर अग्रगामी निकास विरुद्ध षड्यन्त्र गर्ने कि देशलाई झन् ठूलो द्वन्दमा फसाउने न्यायधिशहरुले सोच्नु पर्ने बताउदै भने- के अदालत र न्यायाधीशहरु पश्चिमा शक्तिकेन्द्रका कठपुतली भएका हुन् ? होइनन् भने तीन बुँदेको मर्म अनुसार यो देशलाई अगाडि बढ्ने मार्ग प्रसस्त गर्नु पर्दैन ? ‘
नेता सुमनसिंहले तीन बुँदेमा राजनीतिक समस्याहरु वार्तामार्फत समाधान गर्ने भनेर राज्य स्वयमले देशमा राजनीतिक समस्या छ भनेर स्वीकार गरेरै नेकपासंग सहमति गरेको स्मरण गराए ।
वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तर्कृयामा अमेरिकी स्वार्थ नेपालमा हाबी भएको, चीन आफ्नो सुरक्षा सुनिश्चितताको निम्ति नेपालमा प्रवेश गरिसकेको परिवेशमा देशको स्वाधिनता गंभिर संकटमा परेको सुमनसिंहले प्रश्न गरे-‘ देश जतिबेला पनि जे पनि हुन सक्ने अवस्थामा छ, यस्तो बेला आ-आफ्नो डम्फु बजाएर हिड्ने कि एकीकृत भएर देश जोगाउने ?’
नेता सुमनसिंहले आजको आम संकटको निकास नेपाली विशेषताको समाजवाद हुने भन्दै उनले नेपाली विशेषताको समाजवादमा सबै सहमत भएर आउन अग्रगामी शक्तिहरुलाई अपिल गरे । देश र जनताको हितमा काम गर्ने समाजवाद नै अहिलेको सन्दर्भमा नेपाली विशेषताको समाजवाद हुने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, क्याम्पस प्रमुख, बाम बुद्धिजिवी लगायतले आफ्नो धारणा राखेका थिए । सबैले अग्रगमनको निम्ति सचेत पहल आवश्यक भैसकेको सन्दर्भमा नेकपाले लिएको पहल उच्चस्तरको रहेको बताएका थिए ।
कार्यक्रमको अध्यक्षता नेकपाका उदयपुर पश्चिमका सचिव जितबहादुर सीले गरेका थिए । कार्यक्रमको संचालन तथा अवधारणा पत्र प्रस्तोताको रुपमा उदयपुर पश्चिमका इन्चार्ज दुर्गा सीले भुमिका खेलेका थिए । अन्तरकृयामा उदयपुर पूर्वका इन्चार्ज अमृत सीको पनि उपस्थिति रहेको थियो । कटारी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न पेशामा आवद्ध स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु