नेकपाका ४ जना कार्यकर्तालाई रिहा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई अदालतले सफाई दिएको छ । सोमबार ललितपुर जिल्ला अदालतले दावी नपुग्ने भन्दै नेकपाका चार जना कार्यकतालाई सफाई दिएको हो । जिल्ला अदालत ललितपुरको ५ नम्बर इजलासले सुर्य भुजेल, रामकृण खतिवडा, शिव धिमाल र दोर्जे शेर्पालाई रिहा गर्न आदेश दिएको हो । विष्फोटक पदार्थ (वम) विष्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको अपराध, विध्वन्सात्मक कार्य, सङ्गठित अपराध गरेको भन्दै नेपाल प्रहरीको प्रतिवेदनका आधारमा सरकारले मुद्धा दायर गरेको थियो ।
उक्त मुद्धामा चार जनाको दावी नपुग्ने तथा राजनीतिक मुद्धा भएको भन्दै न्यायाधीश रिताकुमारी बर्खेलको इजलासले सफाई दिएको हो ।
सफाई पाएका ४ जना आजै रिहा हुने बताइएको छ । उनीहरुलाई एनसेलको केन्द्रीय कार्यालयमा भएको वम विस्फोटको विषयलाई लिएर सरकारले २०७७ साल फागुन ५ गते अदालतमा मुद्धा दायर गरेको थियो ।