एनसेलको ठगीविरुद्धको संघर्ष गर्दा जेल परेका चार जना रिहा: नेकपाद्वारा स्वागत

काठमाडौँ । एनसेलको करछली तथा ठगीविरुद्ध संघर्ष गर्दा जेल परेका नेकपाका ४ जना कार्यकर्ता रिहा भएका छन् । ललितपुर जिल्ला अदालतले सफाई दिएपछि मंगलबार दिउसो उनीहरु रिहा भएका हुन् । सोमबार ललितपुर जिल्ला अदालतका न्यायाधीश रिताकुमारी बर्खेलको इजलासले दाबी नपुग्ने भन्दै विप्लव नेतृत्वको नेकपा चार जना कार्यकतालाई सफाई दिएको थियो । नख्खु कारागारमा रहेका सुर्य भुजेल, रामकृण खतिवडा र दोर्जे शेर्पा र केन्द्रीय कारागार सुन्धारामा रहेका शिव धिमाल अदालतको आदेशपछि रिहा भएका हुन् ।
उनीहरु चारै जनालाई नेकपा केन्द्रीय कार्यालयले स्वागत गरेको छ । बुद्धनरस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा पार्टी स्थायी समिति सदस्य विषम सी, अनिल सी, सुशिल सी तथा पोलिट ब्युरो सदस्यहरु कृति सी, माइला सी लगायतले स्वागत गरेका थिए । उनीहरु चारै जना ५ बर्षको हिरासत बसाईपछि रिहा भएका हुन् ।
स्वागत तथा बधाई कार्यक्रममा रिहा भएका चारै जनाले जेल मोर्चा सहज नभएको भएपनि जितेर फर्किएकोमा खुशी लागेको प्रतिक्रिया दिएका थिए । रिहा भएर आएका सुर्य भुजेलले परिवर्तनको आन्दोलनमा लाग्दा जेल हिरासत सामान्य भएको भन्दै त्यहाँका दुःख सुनाएर साध्य नहुने बताए ।
नख्खु कारगारमा पाँच बर्ष विताएका रामकृष्ण खतिवडाले आफूलाई पार्टी फुट्दा दुःख लागेको बताए । ‘हामी क्रान्ति भनेर पार्टीको आदेशमा काम गर्ने । जेल हिरासत बस्ने । तर केही नेताहरु व्यक्तिगत स्वार्थ पुर्तिका लागि पार्टीसमेत फोड्न तयार भएपछि दुःख लाग्दो रहेछ ।’, भावुक हुँदै उनले भने, ‘पार्टी नफुटेको भए हामी अझै धेरै खुशी हुने थियौं ।’ उनले जेल जीवन असहज भएपनि आफूलाई पार्टीमा काम गर्न यसले थप उर्जा मिलेको बताए ।
त्यस्तै, रिहा भएर आएका दोर्जे शेपाले जेल बसेर आफू झन खारिएको बताए । पार्टीले सर्वहारा वर्गका लागि संघर्ष गरिरहेको बताउँदै उनले आफूलाई जिम्मा दिएको जुनसुकै काम पनि निडरताका साथ सम्पन्न गर्ने उर्जा प्राप्त भएको प्रतिक्रिया दिए । साथै, केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका शिव धिमालले जेल मोर्चा जितेकोमा आफूलाई खुशी लागेको बताए ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सीले पाँच बर्षसम्म पार्टीले भोग्नुपरेका उतारचढावहरुको बारेका ब्रिफिङ गरेका थिए । साथै पछिल्लो समय चर्चामा रहेको समाजवादी मोर्चाको बारेमा पनि प्रष्ट पारेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीले आफ्ना जेल यात्राका बारेमा अनुभूति राख्दै प्रशिक्षित गरेका थिए । भ्रष्ट अनि बदनाम दुरसचार कम्पनीले गरेको राज्य ठगीको विरुद्धको संघर्षमा ५ बर्ष लामो कारागारको अन्यायपूर्ण बसाइँबाट ललितपुर जिल्ला अदालतको फैसलाले निर्दोष भई कैद मुक्त भएकोमा बधाई दिदै नेकपा पोलिटब्युरो सदस्य कृति सीले कार्यक्रम समापन गरेका थिए ।
उनीहरु चारै जनलाई विष्फोटक पदार्थ (वम) विष्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको अपराध, विध्वन्सात्मक कार्य, सङ्गठित अपराध गरेको भन्दै नेपाल प्रहरीको प्रतिवेदनका आधारमा सरकारले मुद्धा दायर गरेको थियो । उक्त मुद्धामा चार जनाको दाबी नपुग्ने तथा राजनीतिक मुद्धा भएको भन्दै न्यायाधीश बर्खेलको इजलासले सफाई दिएको थियो । -शाहस भट्ट