राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

२०८० फाल्गुन २९ गते, मंगलवार


काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित भएका छन । मंगलबार राष्ट्रिय सभा बैठकमा भएको मतदानबाट दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनलाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्माका पक्षमा १७ मत परेको थियो ।
दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित नेकपा (एमाले) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए । मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गर्नुभयो । पराजित शर्माका पक्षमा कांग्रेसका १६ र लोसपाका १ गरी १७ सांसदले मत दिएका थिए । एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद भने तटस्थ बसेका थिए । ५९ सदस्यीय राष्ट्रियसभामा हाल ५८ सांसद छन् । एक सदस्य भने राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]