‘स्वास्थ्य क्षेत्रमा आउने चुनौतीको सामना गर्न सक्नुपर्छ’

२०८१ बैशाख १२ गते, बुधबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखापरिरहेकाले त्यता समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनु बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने – ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ। अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’
प्रधानमन्त्री प्रचण्डले नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै भने, ‘स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको बताए । उनले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताउदै भने- ‘सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।’
प्रधानमन्त्री प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]