सामाजवादी व्यवस्था ल्याउन उत्पादन पनि एउटा साधन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती व्यूरो इञ्चार्ज सविन सीले सामाजवादी व्यवस्था ल्याउनको लागि उत्पादन पनि एउटा साधन भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको दोस्रो आवधिक योजनाको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता सविन सीले पार्टीको नीति ठिक ढंगले बुझेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने र परिस्थितिको बोध गर्दै त्यसलाई समाज–व्यवहार लागू गर्नुपर्ने बताए। उनले आवधिक योजना अन्तर्गत पूर्वी दाङले गरेको उत्पादनले स्थानीयदेखि राष्ट्रियस्तरसम्म चर्चा कमाएको बताउदै उत्पादनले चर्चा मात्र नकमाएर पार्टीलाई राष्ट्रिय स्तरमै फाइदा पुगेको कुरामा जोड दिए ।
सोही बैठकमा बोल्दै केन्द्रीय सदस्य सम्झना सीले दाङमा उत्पादन सम्बन्धीको नीति नमूना बनेको भन्दै पहिलोदेखि दोस्रो आवधिक योजनासम्मको उत्पादनकार्य सन्तोषजनक भएको बताइन् । उनले यो एक वर्षको अवधिमा पार्टीले लिएको विभिन्न योजनाहरु जिम्मेवारी पूर्ण ढंगले कार्यान्वयन भएको जिकिर गरिन् । पार्टीका हरेक कामहरु पारदर्शी ढंगबाट अगाडि बढिरहेको भन्दै उनले पार्टीका हरेक गतिविधि तथा उत्पादनसम्बन्धीको समाचार प्रकाशन/प्रशारण गरेर साथ र सहयोग गर्ने पत्रकार, सञ्चारमाध्यमहरुलाई धन्यवाद व्यक्त गरिन ।
नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता एवंं पार्टीका केन्द्रीय सदस्य तथा राप्ती व्यूरो इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्लामा दोस्रो आवधिक योजना अन्तर्गतको उत्पादन कार्य सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।
नेकपा पूर्वी दाङले लिएको उत्पादनसम्बन्धीको नीतिलाई आत्मसाथ गर्दै पार्टी पूर्वी दाङले घोराही–१६ गुरुवा गाउँमा रहेको जनशेयर मा.वि.को ६ विघा जग्गा भाडा लिएर पहिलो आवधिक योजना अन्तर्गतको धान खेती लगाएको थियो भने दोस्रो आवधिक योजना अन्तर्गत आलु खेती गरेको थियो ।