बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी

२०८१ बैशाख १९ गते, बुधबार

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको बताए । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताए । उनले संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढ्ने र बजेट अधिवेशन भएपनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे ।
मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए । यद्यपी छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने पनि उनले बताउदै भने- ‘आउँदो अधिवेशनको सन्दर्भमा पनि समितिमा छलफलमा भएका धेरै विधेयकहरू छन् । ती विधेयकहरू समितिमा छिटोभन्दा छिटो टुंग्याउने र संसदमा लगेर यसलाई कानुनको रूपमा अगाडी बढाउनेगरी काम अगाडी बढ्दैछ । मलाई लाग्छ आउने अधिवेशन विधेयकहरूलाई संसदबाट पारित गर्ने काममा उल्लेखनीय प्रगति हासिल गर्छौ भन्ने लाग्छ । संविधान, संघीयतालाई कार्यान्वयन गर्नका निम्ति थुप्रै ऐनहरूमा संशोधन आवश्यक छ । त्यसको निम्ति पनि धेरै विधेयकहरू संसदमा पेश हुने अवस्था रहन्छ ।’
मन्त्री गिरीले संसद बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताए । उनले संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]