‘सरकारले ऐतिहासिक काम गरेको छ’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गर्दै भने- “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु। यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्।”
प्रधानमन्त्री प्रचण्डले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै नेपाल श्रीलंका नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए। उनले भने- “शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व संकलनमा सुधार आएको छ। अर्थतन्त्रका सूचकांकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ।”
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताए।
प्रधानमन्त्री प्रचण्डले सरकारले चालेको सुशासनका कार्यहरू उल्लेख गर्दै भने- “नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको छ।”
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताए।
प्रधानमन्त्री प्रचण्डले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, बिपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार ९ सय निःशुल्क शैया तथा गैरआवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए।
प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु, बंगलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु र देशभित्र विद्युत् उत्पादनमा जोड दिनुले देशको आर्थिक भविष्य उज्वल रहेको छ भन्ने स्पष्ट भएको बताए।
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि रहेको स्मरण गराउँदै भने- ‘अब पत्रकारिता क्षेत्रले आफूसमेत सहभागी भएर प्राप्त भएको उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी, म फेरि पनि दोहो-याउन चाहन्छु– तपाईहरुले राज्यमाथि निरन्तर खबरदारी पनि गर्नुपर्दछ, राज्यमाथि निरन्तर निगरानी पनि राख्नुपर्दछ । यस कार्यलाई मिसन बनाउनुस् भनेर म अपिल गर्न चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले प्रेस जगतसँग हातेमालो गरेर प्राप्त परिवर्तनका एजेण्डालाई संस्थागत र देशमा द्रुत आर्थिक उपलब्धी हासिल गर्न चाहेको बताए ।