संसदीय सत्ता चरम संकटमा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेपालको संसदीय सत्ता चरम संकटमा पुगेको ठोकुवा गरेका छन् । जनपत्रकार संगठन नेपाल दाङद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । नेता सविनले नेपालका कम्युनिस्टहरुमाथि चौतर्फी घेराबन्दी भइरहेको बताउदै भने- ‘ यतिबेला चारैतिरबाट कम्युनिस्ट जनमतमाथि घेराबन्दी भइरहेका छन् । अमेरिकी साम्राज्यवाद कम्युनिस्टहरुका विरुद्ध सिधै लड्न यहाँ आइपुगेको छ । यतिबेला हामी सचेत र सतर्क बन्नुपर्ने बेला भएको छ । साम्राज्यवादका विरुद्धको लडाइँमा सबै मोर्चाहरु खुल्ला गरेर जाने पार्टीको नीति रहेको छ । नेपालको कम्युनिस्ट जनमतलाई एकतावद्ध गर्दै समाजवादको बाटो तय गर्नुपर्ने बेला भएको छ । एकातिर नेपालको संसदीय सत्ता चरम संकटमा पुगेको छ यसको निकास नेपाली विशेषताको समाजवादबाट गरौं भन्ने हाम्रो पार्टीको स्पष्ट प्रस्ताव हो ।’
नेता सविनले राजनीति जनताको सेवा गर्ने कुरा भएको बताउदै भने– ‘ राजनीति जनताको सेवा गर्ने कुरा हो तर यसलाई यहाँका अन्य दलहरुले पेशा बनाए । राजनीति पेसा होइन, यो निस्वार्थ ढंगले जनताको सेवा गर्ने कुरा हो । नेकपाले राजनीतिलाई पेशा होइन सेवा गर्ने कर्म बुझेको छ । हामी उत्पादनबाट पार्टीका नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ । राजनीतिक नेताकार्यकर्ता उत्पादनमा जोडिएन भने नेताहरु स्वाधिन बन्न सक्दैनन् त्यसपछि राजनीतिक पेशा बन्न पुग्छ । हाम्रो पार्टी स्वाधिन छ । अब नेकपा कसैको भर पर्नुपर्दैन , हामी हाम्रै उत्पादनमा बाँचेका छौँ ।’
नेता सविनले नेकपाले ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्ने समेत बताउदै भने – ‘ चुनाव सम्बन्धी कम्युनिस्टका दुई फरक बुझाई रहेका छन् एउटा प्रयोग र अर्को बहिस्कार । नेकपाले चुनावलाई अब कार्यनीति र रणनीतिको बिषय बनाउने भन्दापनि समग्र क्रान्तिको मोर्चाको रुपमा हेर्नुपर्दछ भनेको छ ।’
उक्त पत्रकार सम्मेलनमा नेकपा दाङका सेक्रेटरी तिलक सीले पार्टीको तेस्रो आवधिक योजनाको पहिलो बैठकको निर्णयसहितको प्रेस विज्ञप्ति वाचन गरेका थिए । प्रेस विज्ञप्तिमा एकीकृत जनक्रान्तिका सहिद क.महानको शालिक निर्माण गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको उल्लेख गरिएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत प्रेस विज्ञप्तिमा कम्युनिस्ट एकता र सहकार्य आजको आवश्यकता, अबको विकल्प नेपाली विशेषताको समाजवाद, आत्मनिर्भर उत्पादन र जनउधमशिलता, नयाँ संस्कृति सी संस्कृति विषयक सर्वपक्षीय विमर्श र अन्तरक्रियाहरुको आयोजना गर्ने, पार्टीले सञ्चालन गरिरहेका उत्पादन केन्द्रहरुलाई व्यवस्थित गर्ने, जिल्ला पार्टीले विभिन्न कोषहरु सञ्चालन गर्ने, पार्टीको जिल्ला कार्यालय भवन निर्माण गर्न आवश्यक प्रक्रिया सुरुवात गर्ने, गुठि पिडित किसान र सुकुम्बासीहरुले जमिनको स्वामित्व कायम गर्न गरिरहेको संघर्षलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट थप पहल गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
यस्तै विज्ञप्तिमा भ्रष्टाचारी , कालाबजारीया , लागुऔसध कारोबारी , मिटरव्याजी तस्करी विरुद्धको कारवाही प्रभावकारी बनाउन सरकारी निकायसंग सहकार्य , समन्वय र संघर्ष गर्ने , मापदण्ड बिपरित खोलानदीको दोहन गर्दै अवैध क्रसर उद्योग चलाएर खोलानदी उजाड बनाउने कार्य बन्द गर्न सरोकारवालाहरुलाई सचेत गर्दै गम्भीर ध्यानाकर्षण गराउने टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न र नियमित उडान गर्न जोडदार माग गर्ने निर्णय गरिएको समेत स्पष्ट उल्लेख गरिएको छ ।
यस्तै किसानलाई मल बिउबिजनको सहज उपलब्धताको लागि सरकारी निकायको गम्भीर ध्यानाकर्षण गराउने , असारे विकासको विकृत नेपाली मोडेलमा भइरहेको चरम अनियमितता , भ्रष्टाचार , कमिसन र गुणस्तरहिन निर्माणको कामलाई कडा निगरानी गर्दै गुणस्तरीय निर्माण र छरितो सेवा प्रवाहको लागि पहल गर्ने निर्णय गरेको छ ।
तेस्रो आवधिक योजनाको प्रथम बैठकले यसअघिका तीन वटा जिल्ला समितीहरु एकीकृत गरि १२१ सदस्यीय जिल्ला समिति निर्माण गरिएको जारी प्रेस वसज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु विकास सी र जनक सी , प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी , नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी लगाएतको आतिथ्य रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले गरेका थिए ।