‘बामपन्थी एकताको पक्षमा छौं’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफु बामपन्थी एकताको पक्षमा रहेको दाबी गरेका छन्। सो पार्टीको केन्द्रीय कमिटीले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
अध्यक्ष नेपालले जसपा विभाजित भएपछि समाजवादी मोर्चाको भविष्यमा संकट निम्तिएको र मोर्चाभित्र पनि छलफल गर्ने वातावरण बन्न नसकेको बताउदै जसपा नेपालको फुटले सत्ता समिकरणमा केही जटिल अवस्था सिर्जना भएको उल्लेख गरे।
अध्यक्ष नेपालले समग्र सहकारी समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषीमाथि कडा कारबाही गर्न बैठकले माग गरेको उल्लेख गर्दै उनले देशभक्त शक्तिहरु एकजुट भएर राष्ट्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको जनाए। संसदमा देखिएको गत्यारोध अन्त्यका लागि सवै पक्ष गम्भीर हुनुपर्ने उनले बताए ।
अध्यक्ष नेपालले श्रम निरीक्षण प्रणालीजस्ता संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन सरकार र सम्बन्धित सबै सरोकारवाला पक्षसँग माग गरेका छन् ।
जनताको बचत अपचलन गरी ठूलो धनराशि दुरुपयोग गरेका सहकारी संस्थामाथि छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुुपर्ने उनको भनाइ छ । यस क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि आर्थिक तथा वित्तीय अपराधमा संलग्न सबैलाई दण्डित गरी पीडित नागरिकको निक्षेप फर्काउन अध्यक्ष नेपालले सरकारसँग आग्रह गरे ।
मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी ठूलो जनधनको क्षति भएकामा दुुःख व्यक्त गर्दै बैठकले घाइतेको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
आगामी मनसुनको समयमा सामान्यभन्दा अधिक वर्षा हुने भएकाले विषम मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीमा रहन पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका जनतालाई सतर्क रहनसमेत अपिल गरेको छ ।
वर्षाको सुरूआत भएपछि मुलुकभर रोपाइँको गतिविधि तीव्र रूपमा अगाडि बढ्ने अवस्थामा रोपाइँका लागि आवश्यक पर्ने बीउबिजन र मलखाद आपूर्तिको व्यवस्था सुनिश्चित गर्न बैठकले माग गरेको छ । लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमीको संरक्षण गरी आर्थिक, वित्तीय तथा मौद्रिक नीतिहरूमार्फत अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न आग्रह गरेको छ ।
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगका लागि लगानीको वातावरण तयार गर्न, औद्योगिक विकासलाई तीव्रता दिन व्यवस्थापनमा सुधार गर्दा नाफामा जान सक्ने सार्वजनिक संस्थानहरूलाई सञ्चालन गर्न, औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा तदारुकता देखाउन तथा लगानीमैत्री कानुन एवं छिटो-छरितो कार्यविधि निर्माण गर्न माग गरेको बैठकले वित्तीय सुविधामा निश्चित व्यावसायिक घरानाको मात्र पहुँच हुने वर्तमान वित्तीय एकाधिकारको स्थितिको अन्त्य गरी अधिकतम रोजगारी सिर्जना गर्ने साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्ने नीति तय गर्नुका साथै नेपालमा आयात हुने तयारी माल/वस्तुमा भन्सार कम गर्ने तथा कच्चा पदार्थको आयातमा भन्सार दर बढी हुने व्यवस्थाको अन्त्य गरी उत्पादनमैत्री कानुनी व्यवस्था गर्न बैठकले सुझाएको छ ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि बैठकले दिएको छ।