ललितपुर महानगरलाई गैरजिम्मेवार भ्रमण र करको दुरुपयोग रोक्न आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर समितिले ललितपुर महानगरलाई गैरजिम्मेवार भ्रमण र करको दुरुपयोग रोक्न आग्रह गरेको छ। नेकपा ललितपुर महानगर समितिका इन्चार्ज बज्र सी र सेक्रेटरी अष्ट सीले मंगलबार एक विज्ञप्ति गर्दै ललितपुर महानगरले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जेठ २६ देखि २८ सम्म पोखरा भ्रमणमा लैजाने भन्ने निर्णयप्रति नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाउदै यो निर्णय जनताको सेवा र विकासको लागि उठाएको कर एवं बजेटको चरम दुरुपयोग र पदीय दुरुपयोग एवं बेथितिलाई प्रश्रय दिने जनविरोधी हर्कत भएको ठहर गरेका छन् ।
उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ’हामी यस किसिमको गैरजिम्मेवार भ्रमण रोक्न र करको दुरुपयोग रोक्न यसै विज्ञप्तिमार्फत गम्भीर चेतावनी दिन चाहन्छौँ ।’
यस बिषयमा नेकपा ललितपुर महानगर समितिका इन्चार्ज बज्र सी र सेक्रेटरी अष्ट सीले जारी गरेको विज्ञप्तिकाे पूर्ण बिबरण यस प्रकार रहेको छ -‘हाम्रो जनप्रिय पार्टी विगत लामो समय अगाडिदेखि देश र जनताले भोगिरहेका यावत समस्याहरु राज्य र यसका निकायहरुको जनविरोधी गतिविधि, सामाजिक आर्थिक विकृति विसंगति विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा हाम्रो यस पार्टीले ललितपुर महानगरपालिकाले गरिरहेको जनविरोधी गतिविधिहरुको समय समयमा गम्भीर ध्यानाकर्षण गर्दै आएको छ । भखरै मात्रै महानगरले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जेठ २६ देखि २८ सम्म पोखरा भ्रमणमा लैजाने भन्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय सरकार भनिएको महानगरपालिकाको यो निर्णय जनताको सेवा र विकासको लागि उठाएको कर एवं बजेटको चरम दुरुपयोग र पदीय दुरुपयोग एवं बेथितिलाई प्रश्रय दिने जनविरोधी हर्कत भएकोले हामी यस किसिमको गैरजिम्मेवार भ्रमण रोक्न र करको दुरुपयोग रोक्न यसै विज्ञप्तिमार्फत गम्भीर चेतावनी दिन चाहन्छौँ ।’