मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला अलग
काठमाडौँ । एकता भएको १६ महिना नपुग्दै मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन: फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् ।
मंगलबार बाँस्तोलाले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन् ।
अहिले फेरि फुट्दाखेरि बाँस्तोलाले वैद्य नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने ठोकुवा गरेका छन् । वैज्ञानिक समाजवादकै कार्यदिशा मानेर जाने निर्णय गरे पनि बहसको प्रक्रियालाई अनुसन्धानमूलक र रुपान्तरणकारी बनाउने प्रयासमा अवरोध गरिएको उनले आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’
बाँस्तोलाले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा आफ्नो तर्फबाट पनि कमीहरू भएको भन्दै त्यसप्रति आत्मालोचना गरेका छन् ।