सर्वोच्च अदालतद्वारा बेचन झालाई थुनमुक्त गर्न अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।
थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगीत गरेका थिए ।
झा गतअसार १५ गते राति पक्राउ परेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । उनले गिरोहबाट दुई करोड रुपैयाँ बुझेर बिचौलिया बनेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।