नेकपा माओवादी केन्द्रले पुर्नजागरण अभियान सञ्चालन गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सो पार्टीका प्रवक्ता अग्नि सापकोटाले आजको पदाधिकारी बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले पार्टी सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
प्रवक्ता सापकोटाले पार्टी पुर्नजागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिदै त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रुप दिने बताए। उनले गठबन्धन मार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी दिए।
बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउँदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले जानकारी दिए।
प्रवक्ता सापकोटाले पदाधिकारी बैठकले सबै कम्युनिष्टहरुसँग ध्रुविकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरुको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेकोसमेत बताए।