मन्त्रिमण्डल विस्तार
२०८१ श्रावण १८ गते, शुक्रबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले तीन जना राज्यमन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी एक राज्यमन्त्री थप गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन् ।
यस्तै कांग्रेसबाट रुपा विकलाई वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङलाई उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री बनाइएको हो ।
योसँगै मन्त्रिमण्डल २५ सदस्यीय भएको छ ।